बर्दिया, असोज २४ – दसैँको नवमीका सोमबार दिन पश्चिम नेपालको दाङ्ग, बाँके, बर्दिया, कैलाली र सुर्खेतमा बसोबास गर्ने थारु समुदायले पितृको सम्झनामा हुरदङ्गवा नाचगान गरी श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने (पित्रहवा बगाउने) गर्छन् ।
पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायले दसैँको टीकाको अघिल्लो दिन आफ्ना पुर्खाको सम्झनामा हुरदङ्गवा नाचगान गरी नजिकैको नदी वा खोलमा पितृलाई पिण्ड दिने परम्परागत चलन गर्नै गर्दछन् ।
दसैँको टीका सुरु हुनु अगाडि अष्टमीका दिन बेलुका नयाँ चामलको थारु परिकार ढिक्री पकाएर आफ्ना देवतालाई सम्झिने र ढिक्री, जाँड, मासु लगायतका परीकार खाएर युवाहरु रातभर मादल बजाउँदै हुरदङ्गवा नाचगान विगतको तुलनामा केही कम मात्रमा गरेका छन् ।
मुख्य गरी दसैँको यो हुरदङ्गवा नाचमा सबै पुरुष रहने गर्दछन् भने एक जना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादलेसँगै नाच्ने र अरु युवाहरु तालि पिट्दै हुक्कै हुक्कै भनेर कुदने उफ्रने गर्दछन् ।
घटस्थपनाका दिन जमरा राखेर दसैँ सुरु भएपनि अधिकांस थारु समुदायले द्धितियाका दिन जमारा राख्ने र नवरात्राको दिन अर्थात टीकाको अघिल्लो दिनसम्म आफ्ना पुर्खाको सम्झनामा हुरदङ्गवा नाचगान गरी नवमीको दिन श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने अनि भोलिपल्ट टीका लगाउने परम्परागत चलन छ ।
तर अहिले थारु कला सँस्कृति हराउँदै गएको छ । दसैँमा थारु समुदायका युवा युवतीहरुले थारु पहिरनमा गरिने विभिन्न नाचगान हरेक वर्ष घटदै गएको बर्दियाका स्थानिय थारु अगुवाहरु बताउँछन् ।
