nirmal-bhattarai-677x316_c

काठमाडौं, २२ असोज । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य निर्मल भट्टराईले आलोचकलाई निषेध गर्ने कदम फिर्ता लिन संयोजक बाबुराम भट्टराईसँग माग गरेका छन् ।

बाबुरामको आलोचना सहन नसक्ने बानीकै कारण नयाँ शक्ति पार्टी नेपालका बरिष्ठ नेता मुमाराम खनालले पार्टी परित्याग गरेको खुलासा गर्दै भट्टराईले उक्त बानी सच्याउन माग गरेका हुन् ।

शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य भट्टराईले मुमाराम खनाललाई आफूले मेहनत गरी बनाएको पार्टी परित्यागको निर्णय फिर्ता लिन पनि आग्रह गरेका छन् ।

यस्तो छ भट्टराईद्धारा जारी विज्ञप्तिः

नयाँ शक्ति पार्टी नेपालका बरिष्ठ नेता मुमाराम खनालले पार्टी परित्याग गरेको घटनाले पार्टीका हज्जारौं नेता कार्यकर्तालाई मर्माहत र आश्चर्यचकित बनाएको छ । भर्खरै निर्माण हुदै गरेको पार्टीमा नेतृत्व व्यवस्थापन वैज्ञानिक तरिकाले गर्नु पर्नेमा नेतृत्वले पुर्वाग्रह, आवेश र निषेधको कार्यशैली अपनाउनु तथा स्वयं मुमाराम खनालले हठात् पार्टी परित्याग गर्नु अशोभनीय छ ।

त्यसकारण, स्तालिनवादी प्रचण्ड शैलीको जीवनभर विरोध गर्ने डा. बाबुराम भट्टराईको नेतृत्वमा अगाडि बढिरहेको प्रत्यक्ष लोकतन्त्रमा विश्वास गर्ने पार्टी नयाँ शक्ति पार्टी नेपाल स्तालिनकै पदचिन्हमा सञ्चालित हुन संभव छैन । पार्टीभित्र उठ्ने आलोचनालाई सहनै नसक्ने र आलोचकलाई कुनै विधि, विधान, प्रक्रिया र बहुमतविना निषेध गर्ने डां भट्टराईको कदम अविलम्व फिर्ता लिन र मुमाराम खनाललाई आफूले मेहनत गरी बनाएको पार्टी परित्यागको निर्णय फिर्ता लिन जोडदार माग गर्दछु ।

निर्मल भट्टराई
केन्द्रीय सदस्य
नयाँ शक्ति पार्टी, नेपाल