नारायण भण्डारी /तुलसीपुर, २२ असोज । चारै तिर दशैंको खुसिुयाली छाएको बेला प्युठानको एक परिवारमा भने दुःख र आँसुको पहाड बनेको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्का लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो ।
आठ महिना अघि काठमाण्डौं सामाखुसीमा रहेको डेल्टा म्यानपावरबाट मलेसिया पुगेका भण्डारीले मलेसियाको एक कम्पनीको गाडीमा काम गर्दै आउनु भएको थियो । कम्पनीको गाडीमा समान लोड गरेर हिड्ने समयमा मलेसियाको प्रहरीले भण्डारी सहित अरु एक जनालाई नियन्त्रणम लगेको थियो ।
प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको १८ दिन भएपनि ढिला गरी जानकारी आएको उनको परिवारले बताएको छ । दशैंको बेला मलेसियामा भाइ जेलमा परेपछि घरमा आमा र बुहारीलाई सम्हाल्न गाह्रो भएको पीडितका दाजु चुमान प्रसाद भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो ।
मलेसियामा रहेका सोही गाउँकै बुद्धिराम भण्डारीका अनुसार प्रहरीको हिरासतमा रहेका लंक प्रसाद भण्डारीलाई छुटाउने प्रयास जारी छ । म्यानपावर सञ्चालक शरद अधिकारीका अनुसार भण्डारीको साथमा कुनै परिचयपत्र नभएको भन्दै त्यहाँको प्रहरीले उनीसँगै अरु एक जनालाई नियन्त्रणमा दिएको थियो ।
भण्डारीलाई छुटाउनका लागि प्रयास जारी रहेको जानकारी दिंदै अधिकारीले सबै सक्कल कागजात जुटाउन समय लागेको बताएको छ । सबै कागजात जुटाएका छौं, आज वा भोली सम्ममा छुटाउँछौं होला, अधिारीले भन्नु भयो ।
भण्डारीलाई छुटाउनका लागि त्यहाँ स्थित कम्पनी प्रतिनिधीले प्रयास गरिरहेको अधिकारीले जानकारी दिनुभयो । कुनै अपराध गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको नभई साथमा परिचय पत्र नभएकाले नियन्त्रणमा लिएको भन्ने जानकारी आएकाले सजिलै छुट्टने तर समय भने लाग्न सक्ने अधिकारीले बताउनु भएको छ ।
