काठमाडौँ, २० असोज । राष्ट्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विगत वर्षहरूमाजस्तै यस वर्ष पनि हिन्दुको महान् चाड दसैँ, तिहार र छठको अवसरमा विभिन्न अफर तथा छुट दिने भएको छ ।
टेलिकमले दसैं, तिहार र छठलाई मध्यनजर गर्दै विभिन्न ७ प्रकारका अफर सार्वजनिक गरेको हो । सो अफरमा टेलिकमले मोबाइल कल, डाटा र रिचार्ज गर्दासमेत अफर र बोनससम्म दिएको छ । साथै टेलिकमले जीएसएम तथा सीडीएमए पोष्टमेड मोबाइलमा असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिना ५० एमबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।
यस्ता छन्, टेलिकमका सात अफरहरूः
डाटा अफर :
नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहकलाई डाटा र निःशुल्क भ्वाइस तथा एसएमएस अफर सार्वजनिक गरिएको छ । असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एक सय एमबीको डाटा ५० रुपियाँमा र २५० एमबी डाटा एक सय रुपियाँमा उपलब्ध हुने छन् ।
यस्तै ५० रुपियाँको डाटा प्याकेज लिने ग्राहकले १० मिनेट भ्वाइस कल र १० वटा एसएमएस बोनस स्वरुप सित्तैमा पाउने छन् । २५० एमबी डाटा लिने ग्राहकले २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् । १ सय एमबी डाटाको अवधि ५ दिनसम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने टेलिकमले विज्ञप्तिमा जनाएको छ ।
नाइट डाटा अफरः
राति १० बजेदेखि बिहान ६ बजेसम्म पाँच सय एमबी डाटा ४० रुपियाँमा र एक हजार दुई सय एमबी डाटा ८५ रुपियाँमै प्रयोग गर्नसकिने छ । यसैगरी ४० रुपियाँको प्याकेज ७ दिन र ८५ रुपियाँको प्याकेज १५ दिन भित्रै प्रयोग गर्नुपर्नेछ । नाइट डाटा अफर असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
भ्वाइस कलमा छुट
असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २० सम्म टेलिकमको मोबाइलबाट टेलिकमकै अर्को मोबाइलमा कल गर्दा अहिलेभन्दा १० प्रतिशत कम शुल्क लाग्ने भएको छ ।
एसएमएसमा अफर :
टेलिकमका सबै मोबाइलमा असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २० सम्म एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।
लोकल कलमा थप एक सय कल निःशुल्क ः
ल्यान्डलाइन र सीडीएमए ‘सि’ फोनबाट लोकल कल गर्दा असोज र कात्तिक महिनामा थप सय कल न्यनुनत शुल्कभित्रै पर्ने भएका छन् ।
इन्टरनेटमा भ्यालिडिटी थपः
दसैंको समयमा असोज २२ देखि असोज २८ सम्म म्याद सकिने एडीएसएल, वाइम्याक्स र फाइबरका ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म थपिने टेलिकमले जनाएको छ ।
प्रिपेडमा टक टाइम :
जीएसएम र सीडीएमए प्रिपेड मोबाइलमा एक सयभन्दा बढी पिनलेस रिचार्ज गर्नेलाई १० प्रतिशत टक टाइम बोनस थपिने भएको छ ।
दसैँ तिहारमा एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले दसैँ, तिहारको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मुख्य ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउने छन् ।
एनसेलले ल्याएको यो योजना असोज १३ गतेदेखि सुरुभएको छ । यो योजनामा सहभागी हुनका लागि एनसेलका प्रिपेड ग्राहकले १७१२४ मा डायल गर्नुपर्ने एनसेलले जानकारी दिएको छ । एनसेलका ग्राहकले यो सेवा सूचारु गरेपश्चात् मुख्य ब्यालेन्स प्रयोग हुने बितिक्कै सोही रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रूपमा तत्काल प्राप्त गर्नसक्ने छन् तर यसरी प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वकभित्र मात्र प्रयोग गर्नसक्ने छन् ।
सो बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ भने यसरी प्राप्त भएको बोनस रकम सोही दिन मध्यरातसम्म मात्र मान्य हुनेछ । यो योजना सुरुभएको ९० दिनका लागि मात्र लागू हुने एनसेलले विज्ञप्तिमार्फत जनाइएको छ ।
