काठमाडौँ, १९ असोज । खर्च कटौती योजना लागू भएपछि संसद्को प्रशासनिक खर्च मासिक ५६ लाख रुपियाँ कम भएको छ ।
कर्मचारी, सांसद र अन्य उपस्थितलाई समेत दिइँदै आएको खाना कुपन, चिया तथा खाजा व्यवस्थापन कटौती भएपछि सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो ।
संसद्मा खाना र खाजाको कुपन दुरुपयोग भएको भन्दै सांसदहरूलाई बैठक बसेको दिनमा खानाको पैसा बैङ्कमा उपलब्ध गराउने निर्णय भएको थियो । प्रमुख राजनीतिक दलहरूसँगको परामर्शमा सभामुख ओनसरी घर्तीले साउन ३२ गते खाना, खाजा, तथा चियामा हुने खर्च समेत कटौती गर्ने निर्णय गर्नुभएको थियो ।
संसद् सचिवालयले सार्वजनिक गरेको मासिक खर्च विवरण अनुसार खर्च कटौतीपछि भदौ महिनामा सचिवालयको खर्च सात लाख ६२ हजार ४८३ रुपियाँ भएको छ । अघिल्लो वर्ष भदौ महिनामा सचिवालयको खर्च ६४ लाख ४७३ रहेको थियो । अघिल्लो वर्षको भदौ महिनाको तुलनामा सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो ।
सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले सभामुखको अग्रसरतामा खर्च कटौतीका लागि भएको प्रयास अनुसार सचिवालयको प्रशासनिक खर्च कटौती भएको बताउनुभयो ।
सचिवालयको विवरणअनुसार भदौमा संसदीय समितिमा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको छ । यस्तै दलहरूको संसदीय दल व्यवस्थापन खर्च भदौमा चार लाख ८८ हजार ६६६ भएको छ । सचिवालयतर्फ भदौमा २८ हजार १७ रुपियाँ खर्च भएको छ ।
