दाङ, १९ असोज । दाङको तुलसीपुर नगरपालिकाले दलित समुदायका शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहन स्वरुप १ हजार रुपैया दिने भएको छ । दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजना अनुसार नगरपालिकाले रकम दिने भएको हो ।
मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि गरेको पहिलो निर्णय कार्यान्वायन गर्दै स्थानीय विकास मन्त्रालयले यस्तो परिपत्र गरेको हो । प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्दा पहिलो निर्णयको रुपमा दलित र कर्णालीमा नयाँ बच्चा जन्मेपछि जन्मदर्ता गर्दा १ हजार रुपैयाँ बालपोषण भत्ता दिने निर्णय गर्नुभएको थियो ।
व्यक्तिगत घटना दर्ता विवरण अन्तर्गत जन्मदर्ता महत्वपूर्ण हुने भएकाले समयमै आफ्ना बालबालिकाको जन्मदर्ता गराउन पञ्जिकाधिकारी रेग्मीले आग्रह गर्नुभएको छ । बालबालिकाको जम्मदर्ता नहुने समस्या दाङमा व्याप्त रहेकाले यस्तो व्यवस्था गरिएको हो ।।
