काठमाडौँ, १८ असोज । अब राजनीतिक दल दर्ताका लागि पाँच सय मतदाताको प्रतिबद्धतापत्र भए पुग्ने भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्ने विधेयक संसद्मा दर्ता गर्दै उक्त व्यवस्था प्रस्ताव गरेको हो ।

election-commision-of-nepalयसअघि राजनीतिक दल दर्तासम्बन्धी नियमावलीले दल दर्ताका लागि १० हजार मतदाताको हस्ताक्षर अनिवार्य गरेको थियो । मतदाताको प्रतिबद्धतासँगै उनीहरूको मतदाता परिचयपत्र वा नागरिकताको प्रतिलिपि भने आवश्यक पर्नेछ ।

दल त्यागे सांसद पद गुम्ने

प्रस्तावित विधेयकको प्रावधान पारित भएमा अब दल त्याग गर्ने सांसदको पद स्वतः रिक्त हुनेछ ।
दल त्याग गरेको मितिदेखि नै सांसदको पद रिक्त हुने व्यवस्था गरिएको छ । यसअघिको ४० प्रतिशत सांसदको समर्थन भएमा नयाँ दल गठन गर्नसक्ने व्यवस्थालाई भने विधेयकले निरन्तरता दिएको छ ।

अब सांसद आफैँले वा निजसमेत सम्मिलित भई नयाँ दल गठन गरे पद स्वतः रिक्त हुने व्यवस्था प्रस्ताव भएको हो । लिखित राजीनामा दिएमा वा अर्को दलको सदस्यता लिएमा पनि स्थान रिक्त हुनेछ । यस्तै दलले जारी गरेको ह्विप नमानेको अवस्थामा पनि दलले सांसद र सदस्यबाट समेत निलम्बन गर्न सक्नेछ ।

चन्दा बैङ्कबाट

२५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग अब बैङ्किङ च्यानलमार्फत गर्नुपर्नेछ । प्रस्तावित विधेयकको प्रावधान अनुसार दलले स्वैच्छिक आर्थिक सहायता लिँदा अनिवार्य ‘बैङ्किङ च्यानल’बाट लिनुपर्नेछ । यसअघि यो सीमा ५० हजार रुपियाँसम्म थियो ।

सम्पत्ति विवरण पेस गर्नुपर्ने

प्रस्तावित विधेयकले दलका केन्द्रीय कार्यसमितिका पदाधिकारीले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । निर्वाचित भएको ६० दिनभित्र पदाधिकारीले आफ्नो चलअचल सम्पत्ति खामबन्दी गरी दलको कार्यालयमा पेस गर्नुपर्नेछ ।