काठमाडौँ, १८ असोज । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को बैठक आज मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरिसकेको छ ।
दुई देशबीच भएका सन्धि–सम्झौतालाई पुनरावलोकन गर्दै सम्बन्धलाई नयाँ आधारमा विकास गर्न गठन भएको प्रबुद्ध समूहको यो दोस्रो बैठक हो । तीन महिनाअघि काठमाडौँमा समूहको पहिलो बैठक बसेको थियो ।
टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा। भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य हुनुहुन्छ । भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बीसी उप्रेती र महेन्द्र पी लामा हुनुहुन्छ ।
नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको इतिहासमा दुई देशबीच हालसम्म भएका सन्धि सम्झौताहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पहिलोपटक कूटनीति तथा दुई देशको सम्बन्धमा गहिरो ज्ञान राख्ने व्यक्तिको संलग्नतामा ईपीजी गठन भएको हो ।
