काठमाडौं १६ असोज । एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरूले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ ।
न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो ।
परिक्षा नियणत्रण कार्यालयका अनुसार रुकुमको यमुनानन्द नमुना मावि सेरिगाउँ परीक्षा केन्द्र र धनुषाको माध्यमिक विद्यालय प्रितपुर पार्वता केन्द्रमा खटिएका निरीक्षकले आफन्तलाई पास गराउन अन्य परीक्षार्थीको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकाको बाहिरी पानामा नत्थी गरेका हुन् ।
कार्यालय स्रोतका अनुसार यमुनानन्दबाट परीक्षा दिएका १५४००२९ डब्लू सिम्बोल नम्बर भएका विद्यार्थीको चारवटा विषयको बाहिरी पानामा अन्य विद्यार्थीको भित्री पाना नत्थी गरेको पाइएको छ ।
परीक्षा केन्द्रमा खटिएका निरीक्षक वसन्त नेपालीले भतिजा नाता पर्ने ती विद्यार्थीलाई पास गराउन त्यही केन्द्रमा परीक्षा दिएका अन्य विद्यार्थीको उत्तरपुस्तिकाको भित्री पाना नत्थी गरेका हुन् ।
सेरिगाउँ परीक्षा केन्द्रबाट परीक्षा दिएका सम्बोल न. ०५४००४३ डब्लूका विद्यार्थीले पुनर्योग गर्न आवेदन दिएपछि एउटा विद्यार्थीको उत्तरपुस्तिकामा अर्कैको पाना भेटिएको हो ।











