काठमाडौं, १६ असोज । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको छ । त्यस्तै कार्तिक ३,४ र ५ गते रिले अनसनमा बस्ने र कार्तिक ४ र ५ गते उपत्यकाभित्रका सम्पूर्ण सामूदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने समेत चेतावनी दिएको छ ।
कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकोले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिए ।
