काठमाडौँ, १३ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारितासम्बन्धी छलफलको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले सार्कको वडापत्र संशोधन गर्नुपर्ने बताए ।
सार्कको प्रभावकारिताबारे चौतर्फी आलोचना भइरहेको भन्दै उनले वडापत्र संशोधन गरी नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । उनले सार्क औपचारिकतामा मात्रै सिमित हुने डर जनमानसमा बढ्दै गएको उल्लेख गर्दै त्यसलाई चिर्न सार्क राष्ट्र सक्षम हुनुपर्ने बताए ।
दुईदिनसम्म सञ्चालन हुने सम्मेलनमा सङ्गठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलङ्का, भुटान, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान र मालदिभ्सका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरुले भाग लिएका छन् ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सो सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पाँच विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । छलफलबाट निस्केका निष्कर्षलाई सार्कको आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिनेछ ।
