घोराही, १० असोज । शिक्षक सेवा आयोगको परिक्षामा सामेल हुने या सुबिधा लिएर सेवाबाट अबकाश लिने भन्ने बिषयमा सरकारले तयार पारेको फारम दाङका अस्थायी शिक्षकहरुले जलाएका छन् । आयोगको परिक्षा या सेवा सुविधा लिने विषयमा सरकारले आज सम्म अस्थायी शिक्षकहरुलाई फारम भर्न समय दिएको थियो ।
तर त्यसको बिरोधमा दाङमा रहेका अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयको परिसरमै सो फारम जलाएका हुन् । अस्थायी शिक्षकहरुले आफुहरुको योगदानको मूल्याङकन सरकारले नगरी हटाउन खोजेको आरोप लगाउदै बिरोधमा उत्रिएका छन् ।
जिल्ला शिक्षा कार्यालयमा उपस्थित भएकाहरु अस्थायी शिक्षकहरु मध्य एक सय ४२ बढी शिक्षकहरुले फारममा आगो लगाएका हुन् । अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगको परिक्षामा सहभागि भएर फेल हुनेहरुलाई पनि सेवा सुबिधा दिनुपर्ने माग राखेको अस्थायी शिक्षक संघर्ष समितिका जिल्ला अध्यक्ष टंकप्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ ।ब
साथै सरकारले नियम र बिधी बिनै फारम बितरण गरेर आफुहरुको योगदानलाई भुल्दै हटाउने प्रयास गरेको उहाँले आशंका गर्नुभएको छ । शिक्षकहरुलाई भर्न दिएकै फारममा शंका उत्पन्न भएको भन्दै अध्यक्ष ज्ञवालीले २५ बर्ष सम्म पढाएका शिक्षकहरुको योगदानको मूल्यांकन हुनुपर्ने माग समेत गर्नुभएको छ ।
दाङमा करिब ४ सय बढी अस्थायी शिक्षकहरु कार्यरत रहेका छन् । अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिको निर्देशन अनुसार नै देशका अन्य जिल्लाहरुमा पनि उनिहरुले आज उक्त फारममा आगो लगाएका छन् ।।
