इन्द्रेणी संवाददाता
घोराही, ९ असोज सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसल दाङको घोराहीमा मात्रै सञ्चालन गर्दा जिल्लाका सबै क्षेत्रका उपभोक्ताहरुको पहुँच पुग्न सकेको छैन् ।

download-1चाडपर्वलाई मध्यनजर गर्दै आपूर्ती मन्त्रालयले दाङमा साल्ट ट्रेडिङ कर्पोरेशनलाई चिनी र नुन सुपथ मूल्यमा बिक्रि गर्ने जिम्मा दिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय घोराहीमा हुदा जिल्लामा अन्य क्षेत्रमा उपभोक्ताहरुको सहजै पहुँच पुग्न नसकेको देखिएको छ ।
घोराही तुलसीपुर चोकमा रहेको महरा पेट्रोल पम्प देखी पश्चिम जाने भित्री रोडमा रहेको कर्पोरेशनको कार्यालयबाटै सुपथ मूल्यमा चिनी र नुन बिक्रि भैरहेको छ ।

तर एक ठाउँबाट मात्रै सुपथ मूल्यमा चिनी र नुन बिक्रि गर्दा देउखुरी र तुलसीपुर सहित पश्चिम क्षेत्रका उपभोक्ताहरुलाई भने अप्ठेरो पर्ने गरेको छ । प्रतिकिलो ७९ रुपैयाँमा चिनी र १६ रुपैयाँ प्रतिकिलो नुन बिक्रि भैरहेको छ । बजारका अन्य पसलहरु भन्दा सरकारले केही सुपथ मूल्यमा बिक्रि गर्ने गरेको छ ।

घोराही देखी टाढाबाट आउने उपभोक्ताहरुलाई गाडी भाडाकै कारण उल्टो घाटा लाग्ने भएपछि जिल्लाका सबै उपभोक्ताहरुलाई सहज नभएको देखिएको हो । एक जनाले ६ किलो चिनी र ३ किलो नुन पाउने गरेका छन् । दैनिक करिब एक सय जनाले चिनी र नुन सुपथ मूल्यमा किन्ने गरेका छन् । यसैबिच मन्त्रालयको निर्देशन कार्यालयबाट मात्रै नुन र चिनी बिक्रि गर्ने भनेएकाले अन्य बिकल्प प्रयोग गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख मनोज चौधरीले जानकारी दिए । असोज १ गतेबाट सञ्चालन भएको सुपथ मूल्यको पसल कार्तीक २१ गते सम्म सञ्चालन हुने उहाँको भनाई छ ।