काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिलेका जिल्लाहरुलाई टुक्र्याइए निर्णायक लडाइँ गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा नेता रायमाझीले यस्तो चेतावनी दिएका हुन् । ‘७ प्रदेशको टुंगो लागिसकेको छ, संविधानमा हाम्रा पनि केही रिजर्भेसनहरु थिए’, उनले भने, ‘तर सीमांकनको सामान्य हेरफेरबाहेक पहिल्यै मिलेर बसेका जिल्लाहरु टुक्र्याउने काम भयो भने हामी अर्को निर्णायक आन्दोलनमा उत्रिन्छौं ।’
साक्षात्कारमा रायमाझीले भने मिलेर बसेका जिल्लालाई सिमांकन मिलाउने नाममा अलग बनाएर क्षतविक्षत बनाउने काम भए कसैले नमान्ने बताए । ‘यदि सिमांकन मिलाउने नाममा त्यसो गरिए हामी अर्को निर्णायक लडाइँ लड्छौं’, उनले भने, ‘पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए कुनै हालतमा मान्दैनौ । त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाइँमा उत्रन्छौं ।’
विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उनको आरोप छ । भुईँको टिप्न खोज्दा, गोजीको खस्ला त्यतापट्टि सोच्नुपर्छ उनले दलहरुलाई आग्रह गरे ।
