लमजुङ, ८ असोज । २०७० सालमा निर्माण कार्य शुरु भएको उत्तरी लमजुङको भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको निर्माणका काम सम्पन्न भएको छ । निर्मणका सबै काम पूरा भएपछि आगामी सोमबार उद्घाटनको तयारी गरिएको छ । ५० मेघावाट विद्युत उत्पादन क्षमतिा भएको उक्त आयोजना दशैअघि नै विद्युत वितरण गर्ने उद्देश्यका साथ उद्घाटनको तयारी गरिएको हो ।

img_0002-624x449आयोजनाको उद्घाटन आउदो  सोमबार काठमाडौंस्थित हायत होटलबाट आयोजनास्थलमा रहेको कर्मचारीलाई स्वीच थिच्न निर्देशन दिएर उर्जा मन्त्री जनार्दन शर्माले गर्ने तयारी गरिएको छ । मन्त्रीसँग उद्घाटनका लागि लमजुङ पुग्ने समय नभएकाले हायत होटलबाटै मन्त्रीले फोनमार्फत स्वीच थिचेर बत्ती बाल्न निर्देशन दिएर आयोजनाबाट उत्पादित विजुलीको उदघाटन गर्ने कार्यक्रम रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

चाइनिज कम्पनी सिनो हाइड्रो र सगरमाथा पावर कम्पनीको प्रवद्र्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मस्र्याङ्दी नदीबाट विजुली निकालेको हो ।

२०७३ असोज १ गते सम्ममा व्यावसायिक उत्पादन गर्ने समय भएपनि आयोजनाले एक वर्षअघि नै उत्पादन गर्न सक्ने भनेर सरकारलाई लिखित पत्राचार गरको थियो । तर भुकम्प र भारतीय नाकाबन्दीका कारण आयोजनाको काम पछि धकेलिँदा पनि तोकिएको समयमै आयोजना सम्पन्न गर्न सफल भएको सिनो हाइड्रो सगरमाथाका जनसंपर्क अधिकृत कर्ण अधिकारीले बताए ।

आयोजनाको १३ अर्ब रुपैयाँ खर्च अनुमान गरिएपनि नाकावन्दी तथा विभिन्न आन्दोलनका कारण १५ अर्व खर्च भएको बताइएको छ । आयोजनामा सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र सिनो हाइड्रो सगरमाथाको १० प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आश्यक पर्ने ऋण एक्जिम बैंक अफ चाइनाबाट लिइएको हो ।