सिन्धुपाल्चोक, ७ असोज । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने घोषणाबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटा, नेपाल सरकारका कामु मूख्य सचिव टंकमणि शर्मासहित मेलम्ची पुग्नुभएका प्रधानमन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘म निरीक्षणका लागि भन्दा पनि अनुगमनका लागि आएको हुँ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने सरकारको स्पष्ट धारणा छ । त्यसैले म आफैले महत्व दिएर भ्रमणमा आएको छु । मेरो निर्देशन छ, निर्धारित समयभन्दा पहिल्यै आयोजना सम्पन्न गरेर पुरस्कृत हुनुहोस् ।’
प्रधानमन्त्रीले विकास आयोजना छिटो सम्पन्न गर्ने संस्कारमा प्रतिस्पर्धा गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए। प्रधानमन्त्रीले भने, ‘हामीकहाँ काममा ढिलाई गर्नमा प्रतिस्पर्धा हुने गरेको छ । सरकार चाहन्छ, सबै आयोजनाहरु समयमै सम्पन्न गर्ने कुरामा प्रतिस्पर्धा गर्ने संस्कारको विकास होस्, सरकारलाई समयमै काम सम्पन्न गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने अवसर मिलोस् ।’
प्रधानमन्त्रीले सिन्धुपाल्चोक भूकम्प र प्राकृतिक प्रकोपबाट प्रताडित जिल्ला भएको भन्दै भूकम्प पीडितलाई राहत र पूनर्निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्रीले भने , सत्तामा अब राजा महाराजा छैनन्, हामी जनताकै बीचबाट आएका प्रतिनिधि हौं । जनताको पक्षमा काम गर्न पाउँदा मलाई विशेष गर्वको महशुस हुन्छ । भूकम्पपीडितको पक्षमा प्रभावकारी काम गर्न सरकार प्रयत्नशील छ ।’ कार्यक्रममा सिन्धुपाल्चोकका सांसदद्धय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ लगायतका वक्ताहरुले मेलम्ची आयोजनाको प्रगति र राष्ट्रिय महत्वबारे आफ्नो धारणा राखेका थिए ।
