धादिङ, ७ असोज । जंगल अतिक्रमण गरी निर्माण गरेको आरोपमा जिल्ला वन कार्यालयले एकाबिहानै स्थानीय धादिङ सामुदायिक रेडियो धादिङमा डोजर प्रयोग गरेर भत्काएको छ ।
सशस्त्र वन रक्षकहरुले रेडियो स्टेशनमै सुतेका रेडियोकर्मीहरुलाई बाहिर घिसारेर रेडियोको उपकरणहरु पनि तोडफेड गरेका छन् । रेडियो धादिङका कार्यक्रम प्रस्तोता शंकर श्रेष्ठ र दोलख गुरुङ्ग लगायत ४ जना रेडियो स्टेशनमै सुत्दै आएका थिए ।
रेडियोकर्मीहरुलाई कपडासमेत लगाउन नदिएर सशस्त्र वन रक्षकहरुले बाहिर निकालेका थिए । जिल्ला वन कार्यालयले ६ जना जिल्लाका सशस्त्र वन रक्षक र अन्य जिल्ला वाट १९ जना वनरक्षक बोलाएर करिव अढाई सय जनपद र सशस्त्र प्रहरीको जत्थाले शुक्रबार विहान ३ वजे रेडियो धादिङ भत्काएर उपकरणहरु तोडफोड गरेको थियो ।
तोडफोडले रेडियो त्रिशुलीको ट्रान्समिटर, मिक्सर, कम्प्युटर, ल्यापटपहरु लगायत अन्य प्रशारण उपकरणहरु क्षति भएको रेडियो व्यवस्थापन सञ्चालकका सदस्य दामोदर अर्यालले वताए ।
रेडियो र स्नेह हाउस लगायतको विजुली प्रशारण लाइन काट्न दिएको लिखित आदेश अवज्ञा गरेको भन्दै गत ५ गते जिल्ला सदरमुकामस्थित विद्युत प्राधिकरणका प्रमुख सत्यनारायण गामीलाई सशस्त्र वन रक्षकहरुले दिनभर नियन्त्रणमा लिएका थिए । रेडियोको भवन भत्काउन विहीबार मध्यरातबाट पूरै वजारमा विजुली काटिएको थियो ।
भवन भत्केपश्चात शुक्रबार विहान विद्युत सुचारु भएको थियो । जिल्ला वन कार्यालयले रेडियो नजिकै रहेको सहयात्री समाजद्वारा सञ्चालित असहाय महिलाहरु रहेको ‘स्नेह घर’ समेत भत्काएको छ । घर सात वर्षअघि नै निर्माण भए पछि दुई वर्षअघि देखि सञ्चालन भइरहेको छ ।