दाङ, २२ बैशाख
दाङमा प्रथम राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । दिवस मूल समितिका संयोजक प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले प्रथम राष्ट्रिय पत्रकारिता दिवस यही बैशाख २३, २४ र २५ गते गरी तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार बैशाख २३ गते दिउँसो साढे एक बजे घोराहीस्थित बाल बिकास मा.वि.मा अध्ययनरत प्राथमिक तहका बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने, २४ गते दिउँसो दुई बजे जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरुबीच नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा पत्रकारिता र सूचनाको हक विषयक अन्तक्र्रिया गर्ने र २४ गते साँझ सात बजे शहीद गेटमा दीपावली गरेर दिवस समापन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, नागरिक समाजका संयोजक टिकाराम रेग्मी, जिविसका सूचना अधिकृत कृष्ण केसी लगायतको सहभागिता रहेको थियो । यसवर्षदेखि सरकारले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरे बमोजिम दिवस मनाउन लागिएको हो ।।