काठमाडौं, ५ असोज । कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिदैछन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रस्ताव लिएपनि दाहालको अडानपछि सात मन्त्री मात्रै थपिने भएका हुन् ।

25032016090838untitled-15-1000x0प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको ५० प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएका थिए । कांग्रेसका भागमा १५ मन्त्रालय छन् भने माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री चयन गरिसकेको छ । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । अहिले कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । राप्रपाले पनि राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् ।

यसैबीच काग्रेसको तर्फबाट सात राज्य मन्त्री थपिने भएपछि पार्टी भित्र को मन्त्री बन्ने भन्नेमा चर्चा चलेको छ । कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् भने नेता रामचन्द्र पौडेल निकट कति मन्त्री पठाउने भन्ने पनि पार्टीमा छलफल भइरहेको छ ।

देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको स्रोतले जनाएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका छन् ।

राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् ।