दीपबहादुर घर्ती
जाजरकोट, २२ बैसाख ।
जाजरकोटको जेम्स उद्योगमा काम गर्न मजदुरहरुले रत्न पत्थर प्रशोधन सिप सिकि रहेका छन् । स्थानिय स्तरमा रोजगारीका अवसरहरु प्रदान गर्न मजदुरहरुले यस्तो सिप सिक्न थालेका हुन् । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतको आयोजनामा जाजरकोटमा सञ्चालित तीन महिने रत्न पत्थर प्रशोधन सिप विकास तालिमद्धारा झण्डै ४० जना मजदुरहरुले दैनिक सिप सिकिरहेको प्रशिक्षक प्रेम केसीले जाानकारी दिनुभयो ।jjrkot

प्रशिक्षक केसीले दिएको जानकारी अनुसार सिप सिकिरहेका ४० जना मध्यमा दलित महिला ४ जना, जनजाती महिला ६ जना र अन्य महिला १८ जना रहेका छन् भने, १२ जना पुरुष रहेका छन् । सिप विकास तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको प्रशिक्षक केसीको भनाई छ ।तीन महिना सम्म चल्ने तालिममा सहभागीहरुलाई रत्न पत्थर कटिङ्ग, ड्रिलिङ्ग र पालिस गर्ने तरिकाको सिप सिकाईने उहाँले जानकारी दिनुभयो ।

सौन्दर्यता र मानव गहनाका रुपमा विश्वका विभिन्न मुलुकहरुमा प्रयोग हुदै आएको रत्न पत्थर प्रशोधन सिप विकास तालिमवाट सिकेको सिपलाई मजदुरहरुले व्यवहारीक जीवनमा प्रयोग गर्नका लागी जिल्लामा जेम्स उद्योगहरु सञ्चालन हुनु पर्ने केसीको धारणा छ । उक्त तालिमका अधिकांश सहभागीहरु विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु रहेका छन् । तालिमवाट सिकेको सिपलाई जिल्लामा जेम्स उद्योग सञ्चालन भएमा उद्योगमा काम गर्ने धेरै सहभागीहरुले धारणा राख्दै आएका छन् ।

तालिमावाट सिप सिकेर आफुले नै उद्योग खोलेर सिपको प्रयोग गर्न सम्भव नभएको कार्कीगाउँ ९ की पानसरा पुनको भनाई छ । एक जिल्ला एक उत्पादनको सरकारी नीती अनुसार जाजरकोटमा जेम्स उद्योगको लागी नेपाल सरकारले मान्यता दिदै आएको भएता पनि उद्योग सञ्चालनका लागी भने कुनै सरकारी प्रयास नभएको जिल्लावासीको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघले भने जिल्लामा जेम्स उद्योग सञ्चालनको लागी २५ लाख रुपैया सहयोग गरिसकेको वताएको छ ।।