काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा शंकास्पद वस्तु भेटिएका छन् । ललितपुरको सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर कम भेटिएको प्रहरीले जनाएको छ ।

boomb-7बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले बताए । मंगलबार बिहान साढे ५ बजे विद्यालयमा बम रहेको खबर आएको र अहिले त्यस क्षेत्रलाई सुरक्षा घेरामा रोखेको उनले बताए ।

सानेपमा आसपासमा गाडी र सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको छ । बम राखिएको ठाउँमा एउटा पर्चा पनि भेटिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले जानकारी दिए ।

यो समूहले शुल्क वृद्धि फिर्ता लिनुपर्ने, कम आय भएकाको छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ । केही समय अघि यही समूहले सीतापाइलामा रहेको एक निजी विद्यालयको बस जलाएको थियो ।

त्यसैगरी काठमाडौंको जोरपाटी दक्षिणढोका र डल्लुमा पनि शंकास्पद वस्तु भेटिएको छ । डल्लुको कन्चनजञ्गा इन्टिग्रेटेड मोर्डन स्कूलमा र दक्षिणढोकाको मनकामना बोर्डिङ स्कूल, बालसञ्चार बोर्डिङ र आकाशदीप बोर्डिङ स्कूलमा पनि शंकास्पद वस्तु भेटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनाकामना र आकाशदीप बोर्डिङमा बम पड्किएको छ । बिस्फोटका कारण आकाशदीपको पर्खाल र गेटमा क्षति पुगेको छ ।