uma-minaकाठमाडौंँ, ३१ भदौ ।  नेपाल महिला सङ्घको काठमाडौँमा जारी तेस्रो महाधिवेशनमा सङ्घका पूर्वअध्यक्षहरू उमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै प्रत्यासीले आआफ्नो प्यानलसहित शुक्रबार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई कार्यकाल महिला सङ्घको नेतृत्व गरिसक्नुभएकी मीना पाण्डेको समूहबाट महासचिवमा गोमा केसी र कोषाध्यक्षमा कुसुम थापा मगरले उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारी दर्ता गराएपछि पाण्डेले नेपाली महिलाको सशक्तीकरण, सबै क्षेत्रमा सम्मानजनक सहभागिता, सामाजिक विभेद र शोषण अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले ५१ प्रतिशत जनसङ्ख्या रहेको महिलाले हाल प्रचलित ३३ प्रतिशत आरक्षणको सुनिश्चितता र स्थानीय निकायमा ४० प्रतिशत आरक्षणको सुनिश्चितताका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले पार्टीले आफूलाई प्रस्ताव गरिएको मन्त्री पद छोडेर महिला सङ्घको नेतृत्व गर्न उम्मेदवारी दिएको दाबी पनि गर्नुभयो ।