चितवन, २१ बैशाख
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा चितवनको सौराहामा सुरु भएको छ । राष्ट्रपति विद्या भण्डारीले साधारणसभाको उद्घाटन गर्नुभएको छ । करिब १ हजार ७ सय केन्द्रीय पार्षद र अतिथिहरुको सहभागिता रहेको सो साधारणसभामा महासंघको १० प्रादेशिक संरचनाको प्रस्ताव गरिदैछ ।
साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने छ ।
नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिनेछ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि रहेको छ ।।
