suchana-mantralayaकाठमाडौँ, ३० भदौ । सूचना तथा सञ्चार मन्त्रालयले सङ्कटकालीन अवस्थामा सूचना समप्रेशन गर्न छु्ट्टै सूचना केन्द्र गठन गर्ने अवधारणा तयार गरेको छ ।

मुलुकमा हुनसक्ने आपत्कालीन अवस्थाका सूचनालाई एकै ठाउमा केन्द्रीत गरी जनता सम्म पु¥याउन सूचना केन्द्रले भुमिका खेल्ने सुचना तथा सञ्चार मन्त्रालयका सहसचिब राम चन्द्र ढकालले जानकारी दिनुभयो ।

विभिन्न मन्त्रालय र विभागले आआफ्नै प्रकारले सूचना लिने र दिने भएकाले प्रकाशन प्रसारण हुँदा एउटै स्वरूपको नभएकाले नीतिगत अवधारणा तयार गर्न सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न निकायसँग परामर्श गरिरहेको सहसचिब ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तो सूचना केन्द्र अहिले रहेको राष्ट्रिय विपद् अभियान केन्द्र को समानान्तर संस्था भने नभएको स्पष्ट गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयका साथै विभिन्न मन्त्रालयका निर्णय पनि यसै मन्त्रालयको मातहतमा सम्प्रेक्षण गर्दा विश्वासिलो र आधिकारिक हुने भएकाले मात्र यस्तो अवधारणा अगाडि सारेको सहसचिव ढकालले बताउनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयसँग यथेष्ट रूपमा सरकारी तथा निजी सञ्चारमाध्यमहरू, सञ्चारमाध्यम सम्बद्ध सेवा प्रदायकहरू, सञ्चारमाध्यमलाई अनुगमन गर्ने निकायसमेत रहेकाले राष्ट्रिय सङ्कटको घडीमा सङ्कटसम्बन्धी सूचना र समाचार सम्प्रेषण गर्न सहज हुने उहाँले दाबी गर्नुभयो ।