काठमाण्डौ, २९ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण राजकीय हुने जानकारी गराउँदै असल नियतका साथ दुई देशवीच विश्वासको वातावरण बनाउन केन्द्रित हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भारत भ्रमणबारे जानकारी दिदै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच रहँदै आएको सहयोगात्मक सम्बन्ध विस्तार गर्ने बताउनुभयो । prachandaप्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको चारदिने भ्रमणका लागि भोलि त्यसतर्फ जाँदै हुनुहुन्छ । भारत भ्रमणका क्रममा विगतमा भएका आर्थिक र भौतिक पूर्वाधारसम्बन्धी परियोजना निर्माणका बारेमा छलफल र विचारविमर्श हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले हुलाकी मार्गको पहिलो चरणको निर्माणको कामको शीघ्र थालनी, दोस्रो चरणको निर्माणका बारेमा छलफल, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर आयोजनाको अध्ययन प्रतिवेदनको कार्यान्वयलगायतका बारेमा छलफल हुने जानकारी दिनुभयो । नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेल सेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमा समेत छलफल र विचारविमर्श हुने प्रधानमन्त्री दाहालले वताउनुभयो ।

यसैबीच, संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सो विधेयक सदनमा पेश गर्नुभएको हो । यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।

त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्ने छ ।।