काठमाडौं, २९ भदौ । सगरमाथाको नाम जुनसुकै भाषामा पनि सगरमाथा नै राख्न सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को आज वसको बैठकमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् । बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सफलताको कामना गर्दै विभिन्न जिल्ला अस्पतालमा चिकित्सक र औषधिको व्यवस्था तथा भूकम्पपीडितको आवासको लागि अनुदान रकम वितरण कार्यलाई तीव्रता दिन माग गरेका छन् ।
शून्य समयमा पहिलो वक्ताको रुपमा सांसद बलराम अधिकारीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा राष्ट्रको आवश्यकता र जनताको भावनाअनुरुप आफ्ना समकक्षीसँग कुरा राख्न सुझाव दिँदै रासायनिक मल सबै नाकाबाट नेपाल भित्र्याउन सकिने व्यवस्था गर्न माग गरे ।
सांसद भक्तबहादुर विश्वकर्माले परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना कुटनीतिक नियोगको नाम राख्दा ‘नेप्लिज’को साटो नेपाली राख्ने कार्य राम्रो भएको भनी प्रशंसा गर्दै सगरमाथाको नाम पनि जुनसुकै भाषामा सगरमाथा नै राख्न सरकारलाई सुझाव दिए ।
