इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत दाङमा वाढी, गन्धर्व र कुसुण्डा समुदायका एक सय ४८ घर निर्माण भएका छन् । यो कार्यक्रम सञ्चालन भएको छ वर्षको अवधिमा गन्धर्वका ७१, वाढी समुदायका ६९ र कुसुण्डाका ८ वटा पक्की दुई कोठे घर निर्माण भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए ।

abasसरकारले घर निर्माण गर्न नसक्ने बादी तथा गन्धर्व समुदायका व्यक्तिहरुलाई राज्यकै लगानमिा दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गर्दै आएको छ । आर्थिक वर्ष २०६७÷६८ देखि शुरु भएको जनता आवास कार्यक्रम दाङमा निरन्तररुपमा चलिरहेको छ ।

कसरी गरिन्छ घरहरुको छनोट

जनता आवास कार्यक्रमअन्तर्गत घरहरु निर्माण गर्दै आएको सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङसँग जिल्लामा बादी तथा गन्धर्व समुदायको तथ्याङ्क भने छैन । बर्सेनी घरहरु निर्माण गर्दै आएको कार्यालयसँग बादी तथा गन्धर्वहरुको तथ्याङ्क नहुनु आफैमा अनौठो हो ।

जनता आवासअन्तर्गत घर निर्माण गर्नका संसद राजु खनालको संयोजकत्वमा रहेको जिल्ला समन्वय समिति रहेको छ । जसको सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा संसद युवराज ज्ञवाली, सांसद रुक्मीना चौधरी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायत सदस्यहरु रहने व्यवस्था छ । यही समितिले जिल्लामा घर निर्माणका लागि आवेदन आह्वान गर्ने र निवेदनका आधारमा छनोट गरेर घर निर्माणका लागि अनुमति दिने गर्दछ ।