दाङ २७ भदौ । सवारी चलाईरहेको बेला फोन गर्ने चालकलाई निलम्बन गर्ने प्राबधान सहितको नयाँ नियम ल्याउने सरकारको तयारी छ ।
यातायात ब्यबस्था बिभागले सवारी तथा यातायात ब्यबस्था ऐन संसोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउदा फोन गरेको पाईएमा ६ महिना सम्म लाईसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको छ ।
यदि लाईसेन्स निलम्बन भयो भने सवारी चलाउन अनुमति हुने छैन् । निलम्बनमा परेको ब्यक्तिले सवारी चलाएको पाईएमा लाईसेन्स नभएको अबस्था सरह कानुन लाग्ने छ । हिजो नयाँ व्यवस्थासहितको संशोधन प्रस्ताव यातायात व्यवस्था मन्त्रालयमा पुगेको छ । मन्त्रालयमार्फत यो संसोधन प्रस्ताव संसदमा पेश हुनेछ । संसदले परित गरेपछि यो लागू हुनेछ ।
यस्तै प्रस्तावित नियम अनुसार मादक पदार्थ सेवन मापसेको कारवाहीलाई पनि कडा बनाइएको छ । एक पटकभन्दा बढी मापसेको कारवाहीमा परे ६ महिना लाइसेन्स निलम्बन हुनेछ । मादकपदार्थ सेवन गरेर सवारी चलाउनलाई अहिले पाँचपटकसम्म मौका दिइन्छ । अब भने एकपटक भन्दा बढी मापसेको कारवाहीमा पर्ने चालकले ६ महिना सवारी चलाउन पाउने छैनन् ।
त्यस्तै चालकको लापरवाहीका कारण सवारी दुर्घटना भएर यात्रुको मृत्यु वा अंगभंग भएमा चालकको लाइसेन्स खारेज हुने छ । यसैगरी ब्लु बुकमा लेखिएको भन्दा बढी याबु बोकेमा ६ महिनाका लागि लाइसेन्स निलम्बन गर्न प्रस्ताव गरिएको छ । अब सार्वजनिक सवारीदेखि मोटरसाइकल तथा निजी सवारीले सिट क्षमताभन्दा यात्रुबोकेमा कारबाही हुनेछ ।
साथै यात्रु बोक्ने सवारी साधनले अन्य कुनै पनि सामान बोक्न पाउने छैन् । सार्वजनिक सवारीले रुट इजाजत भन्दा बाहेकका बाटोमा गाडी चलाएपनि यही कारवाही गर्न मस्यौदामा प्रस्ताव गरिएको छ ।