घोराही, २७ भदौ । दाङका माहुरी पालक किसानहरुले प्रविधीको अभावमा ब्यवसाय सफल हुन कठिन रहेको बताएका छन् ।
नेपाल माहुरी पालक महासँघ दाङको नवौं साधारणसभामा सहभागी जिल्लाका किसानहरुले समयानुसार प्रविधी नहुँदा क्षमता अनुसार मह उत्पादन गर्न नसकेको बताएका हुन् ।
जिल्लाभरबाट भेला भएका माहुरी किसानहरुले प्रविधीको अभाव, चरण क्षेत्रको ब्यवस्थापन, महको मुल्यमा एकरुपता नहुनु जस्ता समस्याले ब्यवसाय चुनौती पूर्ण भएको भन्दै यी समस्यालाई समाधान गर्न सरकार सँग माग गरेका छन् ।
महासँघ दाङका अध्यक्ष विष्णु बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्द माहुरी पालक किसान धनन्जय आचार्यले अन्य किसानलाई जस्तै माहुरी पालक किसानलाई पनि माहुरीको दाना र औषधी तथा औजारमा राज्यले अनुदान दिनुपर्ने बताउनु भयो । ‘हामी अमृत उत्पादन गछौं, अरुलाई पनि अमृत खुवाउँछौं, तर राज्यले यो ब्यवसायलाई बुझ्न सकेको छैन’, माहुरी ब्यवसायी विनोद हमालले भन्नु भयो ।
माहुरी पालक महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका हमालले माहुरी किसान र राज्यले माहुरीको अनुशासन सिक्नुपर्ने बताउनु भयो । महासंघका सदस्य सरस्वती सुबेदीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा माहुरी पालक नरुलाल चौधरीले चरणका लागि तोरीमा मात्र भर नपरी दीर्घकालीन चरण क्षेत्रको ब्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा माहुरी पालक मनिकर्णा न्यौपानेले जिल्लामा माहुरी गोलाको संख्या धेरै भएकाले महासंघले चरण ब्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय दाङका कृषि प्रसार अधिकृत भरतमणी पोख्रेलले कृषि विकास कार्यालयले जिल्लामा प्रथमिकतामा राखेका वाली मध्य माहुरी पनि एक भएको बताउनु भयो । दाङमा ‘धान पछि माहुरीलाई प्रथमिकतामा राखेर सोही अनुसार कृषि विकास कार्यलयले काम गरिरहेको छ ’ उहाँले भन्नु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका पोख्रेलले अन्तराष्ट्रिय गुणस्तरको मह उत्पादन गरेर दाङको महलाई विश्व बजारमा पु¥याउन किसानलाई आग्रह गर्नुभयो ।











