इन्द्रेणी संवाददाता
काठमाडौं, २७ भदौ । वैदेशिक रोजगारका लागि गएको २२ जना नेपाली कुवेतमा अलपत्र परेका छन् । रोजगारी खोज्दै कुवेतमा पुगेका उनीहरुलाई त्यहाँस्थित ‘खलिफा दद् अल—दबबाउस एण्ड ब्रोस कम्पनी लिमिटेडले भिसा दिलाउन नसकेपछि अलपत्र परेका हुन् । अलपत्र परेका २२ जनामध्ये १६ जना कामदारको आवासीय अनुमति पत्र (भिसा) लागेको छैन । छ जनासँग काम गर्ने अनुमतिसहतिको भिसा भएपनि कम्पनीले काम दिन सकेको छैन ।
कम्पनी आर्थिक संकटमा परेपछि त्यहाँ कार्यरत २२ नेपाली र एक सयभन्दा बढी भारतीय कामदारलाई झन्डै ६ महिनादेखि काम दिन सकेको बताइएको छ । ती कामदारले गएदेखि एक महिना १५ दिन मात्रै काम गरेका थिए । काम खोज्दै उनीहरु गत जनवरी ७ मा कुवेत पुगेका थिए । कुवेतको महबुल्ला ब्लक—२ को स्ट्रिट नं. ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका उनीहरु दुई वर्षे करार पत्र गरी न्युनतम तलब ८० कुवेती दिनार ९ सय २८ हजार नेपाली रुपैयाँमा काम गर्न पुगेका थिए । उनीहरुलाई काठमाडौंस्थित ‘फोकस नेपाल ओभरसिज’ले कुवेत पठाएको हो । उत्तः मेनपावर कम्पनीलाई आफूहरुल ८० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाएको पीडित नेपालीले बताएका छन् ।
यसरी अलपत्र पर्नेमा मोरङका अनिल चौधरी, कृष्णलाल खवास, सन्तकुमार दनुवार, शंकर कुमाल दनुवार, सोबिन कुमार खवास, कम्मलप्रसाद राजवंशी, दाङका सर्जन चौधरी, धरानका दिलबहादुर कुमाल, सर्लाहीका उमेश पश्वान र जनकपुरका गणेश दासलगायत रहेका छन् ।