काठमाण्डौ, २७ भदौ । राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्दै आर्थिक समृद्धि तर्फ लाग्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संविधानको कार्यान्वयन गरी विकास निर्माणलाई तिव्रता दिएर आर्थिक समृद्धि तर्फ लाग्नुपर्ने बताएका हुन् ।Samsad

साथै उनीहरुले भूकम्प पीडितलाई दशै अघि नै राहत रकम उपलब्ध गराउन माग गरेका छन् । आजको बैठकमा एमाले सांसद अष्टलक्ष्मी शाक्यले राष्ट्रियता र सार्वभौमिकतालाई जोगाएर संविधान कार्यान्वयनको दायित्वमा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कांग्रेसका सांसद रामहरि खतिवडाले भूकम्प पीडितले पाउने रकम लिन ३ दिन लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको भन्दै दशैं अगाडि एकमुष्ट एक लाख ५० हजार रकम उपलब्ध गराउन माग गर्नुभयो । यस्तै, माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यकारी प्रमुखका हैसियतले निर्धक्क काम गर्न दिईनुपर्ने बताउँदै अतिरञ्जीत रुपमा प्रश्न नउठाउन आग्रह गर्नुभयो ।

आजको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण विधेयक र वनस्पति विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन विधेयक पेस गर्नुभएको छ । संसदको अर्को बैठक पर्सी विहान ११ बजेका लागि बोलाईएको छ ।।