पोखरा, २६ भदौ । मगर भाषाका आदिकवि सु. रेखबहादुर थापा सारूमगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’ बाट साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुहुने भएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा स्थापित सो पुरस्कारबाट साहित्यकार थापा सम्मानित हुन लाग्नुभएको हो । phul-kumari-thapa-to-be-honored-rekh-bdr-sahitya-purashkar-2073आदिकवि रेखबहादुरको यही भदौ २८ गते ७३ औं जन्मजयन्तीका अवसरमा तनहुँको पर्यटकीय गाउँ माझकोट–९, मिछुर्लुङमा आयोजना हुने विशेष समारोहबीच साहित्यकार थापालाई पाँच हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिने भएको हो । हाल नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका सल्लाहकार रहनुभएका साहित्यकार थापा मगर भाषा प्रतिष्ठान, नेपालका केन्द्रीय सदस्य एवं नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष समेत हुनुहुन्छ ।

नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले साहित्यकार थापालाई पुरस्कार दिन सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिका अन्य सदस्यहरूमा संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, गण्डकी अञ्चल समितिका सल्लाहकार इन्द्रबहादुर आलेमगर, पूर्व सचिव मीना थापामगर र अध्यक्ष बेलीमाया थापामगर ‘गीता’ रहनुभएको थियो ।।