काठमाडौं, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका सबै आयोजनाहरुको काममा आफै अनुगमन गर्ने बताउनुभएको छ । विगतका समयमा मुलुकको कार्यकारी प्रमुखले अगुवाइ नगर्दा धेरै राष्ट्रिय गौरवका आयोजनाहरुले समयमा पूर्णता नपाएको भन्दै प्रचण्डले यी आयोजनाहरुमा आफ्नो सक्रिय अगुवाइ र अनुगमन रहने बताउनुभयो ।
‘राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर म आफैं अनुगमन गर्छु । सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस्’, सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सचिव र मन्त्रीहरुलाई निर्देशन दिदै प्रचण्डले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्काेतिर बिनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेको बताउनुभयो । विकास आयोजना सम्बन्धि समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन समेत मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । ‘विकासका काममा संवेदनशील हुन जरुरी छ । जनताले नयाँपनको प्रत्याभूति गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि माननीय मन्त्री र सचिवज्यूहरुले आवश्यक गृहकार्य गरेर आगामी बैठकमा उपस्थित हुनुहोला ।’











