दाङ, २५ भदौ । शैक्षिक क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानको माग गर्दै अखिल क्रान्तिकारी दाङले जिल्ला शिक्षा कार्यालय दाङलाई ज्ञापनपत्र वुझाएको छ । मौलिक हकको रुपमा रहेको शिक्षालाइ हुनेखानेहरुको मात्र वनाइदा पनि राज्यको त्यसतर्फ ध्यान जान नसकेको भन्दै विप्लव निकट अखिल क्रान्तिकारीले विभिन्न माग समेटिएका ८ वुँदे ज्ञापनपत्र जिल्ला शिक्षा अधिकारी रमेश मैनाली समक्ष पेश गरेको हो ।
ज्ञापनपत्रमा सामुदायिक विद्यालयभित्र अंग्रेजी र नेपाली माध्यमका नाममा भइरहेका विभेदीकरण र चर्को शुल्क तत्काल वन्द गर्नुपर्ने, सरकारी पाठ्यसामाग्रीको सहज आपुर्ती, विद्यालयका पोशाक, पाठ्यपुस्तक विक्रि गर्ने कार्य तत्काल वन्द गर्न माग गरिएको छ । यसैगरी, अनुमति विनाका ट्युशन कक्षा वन्द गर्न, मापदण्ड पुरा नगरेका नीजि विद्यालय वन्द गर्न, शिक्षा नियमावली अनुसार तत्काल व्यवस्थापन समितिहरुको गठन प्रक्रिया अगाडी वढाउन माग गरिएको छ ।
यस्तै ज्ञापनपत्र मार्फत सरकारी विद्यालयमा दरवन्दी अनुसारको शिक्षक पदुर्ती गर्न, संस्थागत विद्यालयहरुमा विद्यार्थीलाइ विभिन्न वाहानामा कुटपिट गर्ने क्रम वढेकाले तत्काल रोक्न, यातायात क्षेत्रमा विद्यार्थीका लागी ४५ प्रतिशत छुटकोपूर्ण कार्यान्वयन गराउन माग गरेको छ ।।











