तुलसीपुर, २४ भदौ । जिल्ला विकास समिति दाङले नदी जन्य पदार्थको निकासी खोल्ने तयारी गरेको छ । सम्वाद समूहले आज तुलसीपुरमा आयोजना गरेको “नदिजन्य वस्तुको उत्खनन् र पर्यावरणीय संरक्षण” बिषयक छलफलमा स्थानीय विकास अधिकारी रमेश गौतमले दाङका खोलामा नदीजन्य पदार्थको निकासी खोल्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । उहाँले असोजको पहिलो हप्तादेखी काम सुरु हुने गरी दाङका पातुखोला,ग्वारखोला,भमके खोला,बहुला खोला,राप्ती र बवई नदी लगाएत ११ वटा खोला बाट गिट्टी,बालुवा निकासी खोल्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार भूगर्भ विभागबाट नदीजन्य पदार्थको निकासीका लागि पत्र आइसकेको छ । गौतमले गिट्टी बालुवाको निकासी खोल्ने तर टेण्डर भने नखोल्ने बताउनुभयो । टेण्डर खोल्दा ठेकेदारको मनोमानी हुने र अबैध उत्खनन् बढ्ने भएकाले टेण्डर नखोल्ने उहाँको भनाई थियो । उहाँले स्थानीय स्तरमा सरोकार समिति बनाएर त्यहीं समितिले राजश्व शंकलन र नियमनगर्ने प्रक्रिया अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।
छलफलमा जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले विकास निर्माणका नाममा नदीजन्य पदार्थको उत्खनन् गरे चुरे संरक्षणको साटो विनास भइरहेको बताउनुभयो । उहाँले अहीले जसरी गिट्टी बालुवाको उत्खनन् नरोकिए दाङ चाँडै मरुभुमी हुने चिन्ता जाहेर गर्नुभएको थियो ।।