भक्तपुर, भदौ २४ ।भक्तपुरमा घरभित्र चितुवाले बच्चा जन्माएपछि गाउँले आतंकित भएका छन । अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिङ्गेश्वर मन्दिर नजिकै रहेको ललितजंग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतंकित भएको छ ।
भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएर राखेपछि यहाँका बासिन्दा आतंकित भएको स्थानीय प्रदीप कार्कीले वताउनुभयो ।चितुवाले साँझ बिहान घरबाट ओहोरदोहोर गर्न र खेतबारीमा जानसमेत समस्या परेको कार्कीको भनाइ छ । एकसातादेखि त्यस क्षेत्रमा चितुवा देखिन थालेको र पाँच दिनअघि थापाको घरमा चितुवाको बच्चा देखिएको स्थानीयको भनाइ छ ।
घर वरिपरि नै चितुवा देखिन थालेपछि त्यहाँको बस्तीमा त्रास फैलिएको छ ।
जिल्ला वन कार्यालय भक्तपुरका निमित्त प्रमुख न्हुछेंकृष्ण श्रेष्ठले चितुवाको तीनवटा बच्चा फेला परे पनि चितुवा आसपासको झाडीमा लुकेर बसेकाले कसरी चितुवा समाउने भन्ने समस्या परेको बताउनुभयो ।।











