काठमाण्डौ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि असोज ३ देखि १२ गतेसम्म न्युयोर्क भ्रमण तय भएको छ । मन्त्रिपरिषदको वैठकले प्रधानमन्त्रीज्यूको न्युयोर्क भ्रमण तय गरेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारीदिनुभयो ।
मन्त्री महतका अनुसार दाहालको भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने छ । भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेको र आवश्यक तयारी गरिरहेको उहाँले वताउनुभयो । प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने कार्यक्रम तय भएको छ ।
उहाँ विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत दिल्ली जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्र मन्त्री महत दिल्लीमै सहभागी हुनुहुनेछ । प्रधानमन्त्री भ्रमण सकेर असोज २ गते स्वदेश फर्किएपछि सोही दिन महत दिल्लीबाटै संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क जानुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ । न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिनुभयो ।।