उदय बीसी
दाङ । दाङको घोराही नगरपालिकाभित्र ३३ दशमलव ५ किलोमिटर सडक कालोपपत्रे भएको छ । नगरपालिका र उपभोक्ताको लगानीमा अहिलेसम्म सो सडक कालोपत्रे भएको नगरपालिकाका सूचना अधिकारी प्रेम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा मात्रै नगरपालिकाभित्र ३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको छ । जसमा नगरपालिका र उपभोक्ताको गरी रु. ३ करोड ६ लाख ८४ हजार रुपैयाँ लगानी भएको छ । लगानी भएको रकममध्ये ६० प्रतिशत नगरपालिकाको हो भने ४० प्रतिशत उपभोक्ताहरुको रहेको छ ।
यसैगरी नगरपालिका क्षेत्रभित्र १ सय २० दशमलव ५४ किलोमिटर सडक ग्राभेल भएको छ । गएको आवमा मात्रै ९ दशमलव ८३ किलोमिटर सडक ग्राभेल भएको सूचना अधिकारी केसीले बताउनुभयो । सडक ग्राभेलमा उपभोक्ताको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत गरी रु. ४८ लाख ९० हजार ७ सय रुपैयाँ लगानी भएको छ । त्यस्तै यसवर्ष नगरपालिकाका विभिन्न क्षेत्रमा ४ दशमलव ५८ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । जसमा उपभोक्ताको १५ लगानीसहित रु. २७ लाख ९२ हजार ४ सय रुपैयाँ लगानी भएको छ ।
त्यस्तै यस वर्ष ३७ किलोमटिर सडक मर्मत गरिएको केसीले बताए । सडक मर्मतमा नगरपालिकाले रु. १ करोड ५८ लाख ५२ हजार रुपैयाँ लगानी भएको छ । यसवर्ष ननगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा ७१ वटा कल्भर्ट निर्माण गरेको छ । जसमा उपभोक्ताको १५ प्रतिशतसहित रु. २६ लाख ८३ हजार ६ सय रुपैयाँ लगानी गरेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । विशेष गरी सडक कालोपत्रेको काम नगरपालिकाको वडा नं. ११ मा भएको छ भने नयाँ ट्रयाक खोल्ने, मर्मत र ग्राभेल गर्ने काम करीव सबै वडामा भएको छ ।
नगरपालिका नगर विकासको बृहत्तर विकासका लागि सबै तत्पर रहेको र यसको एउटा आधार सडक सञ्जाल भएकाले वर्षेनी नगरपालिकाका सडकहरु प्राथामिकतामा पर्ने नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले बताउनुभयो ।