भक्तपुर, २३ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए पत्रकार महासंघले आन्दोलन सुरु गर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले बिहीबार काठमडौमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सञ्चार गृहहरुले तत्कालै न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताउनु भएको हो ।
लामो समयदेखि सञ्चार जगतमा चर्चाको बिषय बनेको श्रमजिवी पत्रकारको न्यनूतम पारिश्रमिकको बिषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार गृह केन्द्रित आन्दोलन गर्ने बताउनु भएको हो ।
पत्रकारले बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका बिषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयन तर्फ सरकारले तत्कालै कदम चाल्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा औँलामा गन्न मिल्ने सञ्चार माध्यम बाहेक अन्य मिडियाहरु आर्थिक संकटमा रहेको भन्दै मिडियालाई आर्थिक रुपमा सवल पार्न नसके समस्या नसुल्झने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेपनि केही वर्ष काम गरेपछि भविष्य अन्धकार देखेर यसक्षेत्रबाट पलायन हुने क्रम उत्तिकै बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
