दीपबहादुर घर्ती
जाजरकोट, २३ भदौ । जिल्ला सदरमुकाम आसपासका क्षेत्रलाई सर्पोट गरिरहेका टावरमा आएको खरावीले दुई दिनदेखी टेलिफोन सेवामा समस्या देखिएको छ । इन्जिनियरको पदपुर्ति नहुदा फोन सेवा सुधार गर्न ढिलाई भएको नेपाल टेलिकम जाजरकोट शाखाले जनाएको छ ।
दुई दिन देखि जिल्ला सदरमुकाम खलंगा आसपासका क्षेत्रमा फोन तथा इन्टरनेट सेवामा खरावी आएको सेवाग्राहीहरुले वताएका छन् । फोन तथा इन्टरनेटमा आएको खरावीले नागरिक सेवा प्रवाहमा निकै समस्या भएको जिल्ला मालपोत कार्यालय जाजरकोटले जनाएको छ । सरकारी कार्यालय तथा वित्तिय संघ, संस्थावाट प्रवाह गरिने सेवा लिन गाउँ देखि आएका नागरिकहरु लाईनमा वसेका हुन्छन् तर, प्रभावकारी इन्टरनेट सेवा नहुदा सेवा दिन नसकेर नागरिकलाई घर फिर्ता गर्नु वाहेक अरु विकल्प नभएको कार्यालयहरुको भनाई रहेको छ ।
सदरमुकाम नजिकै रहेको मालिका र रुकुम चौरजहारीमा रहेको टेलिफोन टावरमा आएको खरावीका कारण ओभर लोड् हुदा फोन तथा ईन्टरनेट सेवा प्रभावकारी हुन नसकेको नेपाल टेलिकम जाजरकोट शाखाका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले वताए । जिल्लामा दरवन्दी भए पनि इन्जिनियरको पदपुर्ति हुन नसकेको कुरा प्रमुख भण्डारीले खुलासा गरे । टावरको खरावी जाँच गर्न नेपालगञ्ज वा सुर्खेत देखि इन्जिनियर आउनु पर्ने भएको हुदा सेवा सुधारमा ढिलाई भएको भण्डारीले जानकारी दिए ।
सुर्खेत वा नेपालगञ्ज देखि ईन्जिनियर जिल्लामा आउन अझै समय लाग्ने भण्डारीको भनाई रहेको छ । नेपाल टेलिकम जाजरकोट शाखा प्रमुख छैटौं तहको अधिकृत दरवन्दी अनुसारको पदपुर्ति नहुदा पाँचौं तहका लोकेन्द्र भण्डारी निमित्त प्रमुख भएर शाखा सञ्चालन गरि रहेका छन् भने, ईन्जिनियरको दरवन्दी रिक्त रहेको छ । त्यसै गरि ६ वटा प्राविधिक दरवन्दी रहेको शाखामा ४ वटा दरवन्दीको मात्र पदपुर्ति भएर सञ्चालनमा रहेको छ ।।











