उदय बीसी / दाङ

कुनै समयमा वारीका काल्न (बारीको छेउछाउ) केरा खेती गर्दै आएको दाङका कृषकहरु पछिल्लो समयमा व्यवसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाका लालमटिया, सिसहनिया, सतवरिया, गढवा, गंगापरस्पुर, पवननगर र फुलवारी गाविसका कृषकहरु यो खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय बजारमा खपत हुने केरा जिल्लामै उत्पादन गर्न सकिने र त्यसका लागि आफ्नो खेतवारीको माटो उपयुक्त भएकाले केरा खेतीतर्फ आकर्षित भएको लालमटिया–९ का कृषक कुलराज जैशीले बताउनुभयो ।

banan‘केराको माग पनि धेरै छ, यसको आवश्यकता जिल्लामै पूरा गर्न सकिन्छ भन्ने उद्देश्यले यो व्यवसाय शुरु गरेको हुँ’, उहाँले भन्नुभयो । जैशीले अहिले दश कट्ठा क्षेत्रफलमा उन्नत जातको केराको व्यवसायिक खेती शुरु गरेका छन् । कुन खेती गर्दा उत्पादनसँगै आम्दानी गर्न लिन सकिन्छ भन्ने अड्कल नहुँदा अहिलेसम्म परम्परागत धान, मकै खेती गर्दै आएपनि अब व्यवसायिक केरा खेतीलाई पहिलो रोजइ बनाएको उहाँले बताउनुभयो ।

त्यसोत जैशी मात्रै होइन लमहीका शिवप्रसाद चौधरीले पनि करीव आठ कट्ठा जमिनम उइलियम जात केराको विरुवा रोपेर व्यवसायिक खेती शुरु गरेका छन् । विगतका वर्षहरुमा वारीमा एक-दुई वटा केराका वोट रोपेर चित्त बुझाएका चौधरीले यो वर्षदेखि व्यवसायिक रुपमै केरा खेती गरेका हुन् । ‘बजारको खपतलाई हेर्ने हो भने करीव ८० प्रतिशत केरा इन्डियाबाट आउँछ’, चौधरीले भन्नुभयो, ‘गरे कसो नहोला भनेर केरा खेतीलाई व्यवसायिक रुपमै अघि वढाएको छु ।’

जैशी र चौधरी मात्रै होइन जिल्लामा करीव २० जनाभन्दा वढी व्यवसायिक केरा खेती गर्ने नयाँ कृषकहरु थपिएको जिल्ला कृषि विकास कार्यालय दाडका वागवानी विकास अधिकृत धनराज गौतमले जानकारी दिनुभयो । पहिले देउखुरी क्षेत्रका लालमटिया, सिसहनिया, सतवरिया, गढवा र गंगापरस्पुर गाविसमा मात्रै व्यवसायिक केरा खेती हुने गरेपनि पछिल्लो समयमा घोराही, तुलसीपुर, पश्चिम दाङका पवननगर, फुलवारी गाविसका कृषकहरु पनि व्यवसायिक केरा खेतीतर्फ आकर्षित भएको कृषि विकास कार्यालयले जनाएको छ ।

यसवर्ष झण्डै २५ हजार कृषकहरुले केराको विरुवाको माग गर्दै कृषि विकास कार्यालयमा आवेदन हालेपनि माग अनुसार विरुवा उपलव्ध गराउन नसकेको अधिकृत गौतमले बताउनुभयो । ‘फलफुल खेतीमा दाङमा सबैभन्दा वढी कृषकहरुको माग नै केरामा छ’,  उहाँले भन्नुभयो, ‘तर फलफुल खेतीमा अनुदान नै कम रहयो मागको आधा मात्रै विरुवा उपलव्ध बनायौं, आधा कृषकले विरुवा नै पाएनन् ।’ यसवर्ष ५० प्रतिशत अनुदानमा १२ हजार केराका विरुवा वितरण गरिएको कृषि कार्यालयले जानकारी दिएको छ ।

केरा खेतीतर्फ दंगाली कृषकहरुको आकर्षणअनुसार आवश्यकता पूरा गर्न सक्ने हो भने भारतबात आउने ८० प्रतिशत केरालाई विस्थापन गर्न सकिने जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।