indian-and-chinese_rvjzlja2vp_ds5xqft6HDकाठमाडौँ, २२ भदौ ।  संसदीय सुनुवाइ विशेष समितिले छिमेकी मुलुक चीन र भारतका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको मङ्गलबारको बैठकले बुधबारबाट प्रस्तावित राजदूतविरुद्ध उजुरी लिनेगरी सर्वसाधारण र सरोकारवालासँग उजुरी माग गरेको हो ।

उजुरीकर्ताले प्रस्तावित राजदूतका विषयमा इमेल, टेलिफोन, फ्याक्स, तथा समिति सचिवालयमा नै उपस्थित भएर उजुरी दर्ता गर्न सक्नेछन् । बुधबारबाट १० दिनको समयसीमामा सरोकारवालाहरूले उजुरी दिन सक्नेछन् । संसदीय सुनुवाइ विशेष समिति सचिव ध्रुवप्रसाद घिमिरेले बुधबारबाट उजुरी सङ्कलन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को भदौ १६ गतेको बैठकले छिमेकी चीन र भारतका लागि राजदूत सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले चीनका लागि नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्याल र भारतका लागि पूर्वराजदूत तथा नेपाली नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायलाई सिफारिस गरेको थियो ।

उपाध्यायलाई यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार संसदीय सुनुवाइको प्रक्रिया सकिएपछि मात्र प्रस्तावित राजदूतको नियुक्ति प्रक्रियाअघि बढ्नेछ । प्रस्तावित राजदूतका उजुरीमाथि संसदीय सुनुवाइ समितिले सम्बन्धित उजुरीकर्तासँग पनि छलफल हुनेछ ।

उजुरीकर्तासँगको छलफल सकिएपछि समितिले प्रस्तावित राजदूतको सुनुवाइ गर्नेछ । सुनुवाइबाट अनुमोदन भएमा एग्रिमो मागको प्रक्रिया अगाडि बढ्नेछ । नेकपा एमालेको नेतृत्वको तत्कालीन सरकारले फिर्ता बोलाएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई पुनः भारतकै लागि राजदूतमा सिफारिस गरेको भन्दै एमालेले असन्तुष्टि जनाएको छ ।