तुलसीपुर २२ भदौ । नेकपा एमाले जिल्ला अधिवेशन निर्धारित समयमा नहुने निश्चितप्राय भएको छ ।
यसअघि एमालेको जिल्ला अधिवेशन यही २५ गते देखि २७ गतेसम्म तुलसीपुरमा हुने भनिएको थियो । एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज मेटमणि चौधरीले पनि उक्त कुरा राप्ती समाचारसंगको कुरामा स्विाकार गरेका हुन ।
उनले असोज १२गतेपछि मात्रै जिल्ला अधिवेशन हुन सक्ने बताए । सोही सवालमा नेकपा एमाले दाङका सचिव हुकुमवहादुर बस्नेतले २५ गतेदेखि २७ गते सम्मको जिल्ला अधिवेशन स्थगित भइसकेको जानकारी दिए । त्यस्तो जानकारी दिनेहरुमा उत्तरकुमार वली , मनोहर बुढाथोकी र मानवहादुर रावत पनि थिए ।
उक्त सवालमा जानकारी लिन खोज्दा एमाले दाङका अध्यक्ष जोगवहादुर राना भने सम्पर्कमा आएनन् । विश्वसनिय स्रोतका अनुसार प्रदेश नं. ५ का प्रमुख एवं एमालेका उपमहासचिव विष्णु पौडेल लगाएतका नेताको विरोधमा जिल्ला अधिवेशन स्थगित हुन पुगेको हो ।
एमाले दाङको जिल्ला कमिटीको बैठक भदौ २८ गते आह्वान गरिएको र उक्त अधिवेशनमा पूर्व अर्थमन्त्री समेत रहेका पौडेल समेतसामेल हुने र त्यसले नै अधिवेशनको टुङ्गो लगाउने नाम उल्लेख नगर्ने सर्तमा एक नेताले जानकारी दिए । जिल्ला अधिवेशन निर्धारित समयमा टाउको काटेपनि हुन नसक्ने अधिव्यक्ति दिने पहिलो व्यक्ति भने तुलसीपुर नगरपालिकाका वडा नं. १९ का सचिव मानवहादुर रावत नै हुन । उनी कारवाहीमा परेपनि अदालतद्धारा सफाई पाइसकेका एमालेका नेता हुन ।
स्रोतका अनुसार निर्धारित सयममा जिल्ला अधिवेशन हुन नसक्नुको प्रमुख कारण भने जिल्ला पार्टीको सदस्यता प्रमाणिकरण केन्द्रवाट नभइसकेकोले गर्दा नै हो । जिल्ला अधिवेशन स्थगित हुनुको अर्काै कारण नव प्रवेशी एक हजार वढी व्यक्तिहरुलाई प्रतिनिधि बनाउन खोज्नु नै हो ।
