काठमाडौँ, २१ भदौ । प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालमा स्वरोजगारको शिर्जन भए मानव बेचबिखनमा कमी आउने बताउनुभएको छ ।
अर्काको देखासिकी नगरी सामान्य जीवन बाँच्ने र रोजगारी सिर्जना गर्ने कलाको विकास गर्नसके मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण हुने उहाँले बताउनुभयो ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १० औ राष्ट्रिय दिवसका अवसरमा सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मूल समारोह समितिद्वारा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकभित्रै रोजगारी सिर्जना गर्दै भड्किलो जीवन नबाँची धेरै ठूला सपना नदेख्ने हो भने वैदेशिक रोजगारीको नाममा भइरहेको विकृतिबाट मानव पीडित भइरहनु पर्दैन, १५/२० हजार रुपियाँ तलबका लागि वैदेशिक रोजगारीमा गई मानिसले दुःख पाउनु पर्दैन भन्नुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव शङ्कर पाठकले वैदेशिक रोजगारीको नाममा सोझा नेपाली ठग्ने गिरोहलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन ओसारपसारको स्वरूपमा परिवर्तन आएको अहिलेको स्थितिमा राज्यले आफ्नो नागरिकको सुरक्षा, उसको बाँच्न पाउने हकको सुरक्षाका लागि नागरिकता/ पासपोर्ट बनाउने क्रममै वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानी, जान्नुपर्ने सीप, बेचिनसक्ने सम्भावनाका बारेमा राम्रोसँग बुझाउने, सल्लाह दिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।