भदौ २० काठमाडौ । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपालले सञ्चारमन्त्री सुरेन्द्र कार्कीको परीक्षा श्रमजिवि पत्रकारको न्यूनतम पारीश्रमिकबाट हुन लागेको बताएका छन् ।
श्रमजिवि पत्रकारको न्यूनतम पारीश्रमिक कार्यान्वयन हुने नहुने कुराले उनको परीक्षा गर्ने बताए । ‘संचार मन्त्री नियुक्त भएपछि कामको शुरुवात पनि गर्दै हुनुहुन्छहोला,’ सोमबार संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उनले भने ‘पहिलो परीक्षा पत्रकारको विषयबाट शुरु भएको छ ।’
नेपालले पत्रकारले तलव नै नपाउने र पाएपनि अत्यन्तै कम मात्र पाउने कुरा गम्भिर विषय रहेको बताए । यसले दैनिक जीवन यापनमा पनि कठीनाई हुने भएकोले न्यूनतम पारीश्रमिक तुरुन्त कार्यान्वयन गरीनुपर्ने उनको भनाई छ ।
‘पत्रकारको पनि दैनिक जीवन यापनको कुरा पनि छ, जीवन चलाउनुपर्छ’ उनले भने ‘कानुन कागजमा मात्र भएर भएन, व्यवहारमा पनि लागुगर्नुपर्ने आवस्यकता छ ।’
उनले पत्रकारको पारीश्रमिक निर्धारण र कार्यान्वयनका लागि गठन भएका समतिको म्याद थप्दै जानेमात्र नभई कार्यान्वयनको अवधि तोक्नुपर्ने पनि बताए ।
