म्याग्दी, १७ भदौ ।
वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । राति एक्कासी आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए ।
प्रहरीका अनुसार स्थानीय प्रसाद सिञ्जाली सम्पर्कविहिन रहेका छन् । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ । बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । स्थानीयी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।।
