रोल्पा, १६ भदौ
उमेर नपुगि विवाह गराएको आरोपमा तीन जनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका दीपक परियार र दुलहा रमेशविरुद्ध प्रहरीले बालविवाहअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गएको साउन २९ गते सुनिता र रमेशबीच सुनिताको मुञ्जुरीबिनै विवाह भएको थियो । भदौ ११ गते सुनिता घरबाट भागेर प्रहरीमा उजुरी दिन आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केटीको उमेर १७ र केटाको उमेर २४ हो ।
हाल दुईजना लमी र दुलहालाई जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी थुनामा राखिएको छ भने सुनितालाई प्रहरीकै संरक्षणमा सुरक्षित राखिएको छ । बाल विवाहमा संलग्न तीनैजनालाई मुलुकी ऐनअनुसार कारबाही हुने रोल्पाका प्रहरी नाउब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।।
