काठमाडौँ, १५ भदौ । सडक सुशासन कायम गर्न एक ट्राफिक प्रहरीले कति सवारी व्यवस्थापन गर्न सक्छन् ? सामान्यतः सबैले अनुमान लगाउँछन् एक सय दुई सय यस्तै । तर, अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ ।
पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून रहेको पाइएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संसद्को राज्य व्यवस्था समितिमा मङ्गलबार दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको अहिले स्वीकृत दरबन्दी दुई हजार ३६५ छन् ।
अन्य ५०० प्रहरीलाई काजमा लगाइएको छ । तर, यातायात व्यवस्था विभागको २०७२ फागुनसम्मको रेकर्ड अनुसार मुलुकभर २१ लाख ४३ हजार १८६ सवारी दर्ता छन् । एक ट्राफिकले अहिले पाँच दशमलव २८ किलोमिटर सडकमा सवारी व्यवस्थापन गर्नुपर्छ ।
जनसङ्ख्या अनुपातमा एक ट्राफिकले १२ हजार १९९ जना व्यक्तिको सवारी व्यवस्थापन गर्नुपर्छ ।











