काठमाडौं ,१४ भदौ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।
बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएको थियो । दुई नेताबीच विवाद झण्डै हात हालाहालको अवस्थामा पुगेपछि अन्य नेता अघि सरेर मिलाउनुपर्ने अवस्था सिर्जना भएको एक नेताले बताए ।
बैठक चलिरहेका बेला संविधान संशोधनको विषयमा छलफल हुँदा रावलले उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति पढेर सुनाए ।
उनले विज्ञप्ति पढ्दै नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाए । दूतावासले जारी गरेको विज्ञप्तिमै संविधान संशोधनबारे भारतीय प्रधानमन्त्री र नेताहरुसँग कुराकानी भएको उल्लेख हुनु गम्भिर विषय हो भन्दै रावलले आपत्ति जनाएका थिए । रावलको कुरा नसकिँदै निधि रावलमाथि खनिए ।
संविधान जारी गर्ने बेलामा धेरै विदेशीका सुझाव लिइएको भन्दै निधिले ‘तपाईँलाई पनि विदेशीले सुझाव दिएका छन् र विदेशीलाई तपाईँले पनि जानकारी गराउनुभएको छ’ भने । उनले रावललाई विदेशीले फन्डिङ गरेको समेत लान्छाना लगाएपछि वातावरण तनावपूर्ण बन्यो ।
अनलाइन खबरबाट
