chakrapathतुलसीपुर १४ भदौ । तुलसीपुरमा चक्रपथ निर्माणको लागि सोमवार घोराहीमा सरोकारवालाहरुका विचमा छलफल भएको छ । डिभिजन सडक कार्यालय घोराहीले तुलसीपुरमा चक्रपथ निर्माणमा सहयोग पुगोस भनेर चालु आर्थिक वर्षमा ८ लाख रुँपैया विनियोजन गरेको छ ।

तुलसीपुर नगरपालिकाले गत नगरपरिषदवाट चक्रपथ निर्माणको लागि २५ लाख रुँपैया छुट्याएको छ । यति रकम राजधानीको भन्दा झन्डै दोब्वर ठूलो आकारको महात्वाकांक्षी चक्रपथ तुलसीपुरमा निर्माणगर्न संभव छैन । किनकी राजधानीको हालको चक्रपथ २७ किलोमिटर मात्रै छ भने तुलसीपुरमा निर्माणगर्ने भनि २०६५ सालमा भएको सम्भाव्यता अध्यनले ४० किलोमिटर बढी दुरीको चक्रपथ निर्माणको योजना तयार पारेको थियो ।

तर यसविचमा नगरपालिकाको आयतन धेरै ठूलो भइसकेको छ । किनकि टरिगाँउ, उरहरी र हलवार गाविस यसमा मिलाइएका छन् । त्यसैले नेपाली काँग्रेसका नेता एवं सांसद डिल्लीवहादुर चौधरीले डिभिजन सडक कार्यालय घोराहीले सोमवार आयोजना गरेको छलफलमा भने ‘ तुलसीपुरमा चक्रपथ निर्माणको लागि राम्रो गुरुयोजना तयार पार्नुहोस , फराकिलो चक्रपथ निर्माणको योजना तयार पार्नुहोस आवश्यक रकमको जोहो गर्ने जिम्मा हामी लिन्छौं ।’

उनले तुलसीपुरमा चक्रपथ निर्माणको लागि २० देखि ४० करोड जति आवश्यक पर्छ त्यो रकम राज्यवाट उपलब्ध गराउन भूमिका खेल्ने वचनवद्धता व्यक्त गरेका थिए । उनले चक्रपथ निर्माणको कुरामा राजनीतिक रुपमा नहेर प्राविधिक रुपमा मात्रै हेरिदिन आग्रह गरेका थिए ।

नेपाली काँग्रेसका नेता एवं सांसद चौधरीको कुरा सुनेपछि डिभिजन सडक कार्यालय घोराहीका प्रमुख शिरवहादुर घिमिरेले चक्रपथ निर्माणको लागि डिपिआर तुलसीपुर नगरपालिकाले गरेपछि चक्रपथ निर्माणको लागि टेन्डर हाल्न सड्क तयार रहेको बताएका थिए ।